टारगाउँमा पहिरोको त्रास ‘रित्तियो गाउँ’
बाग्लुङ | साउन ८, २०७९
तस्बिर रासस
बागलुुङ ः पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयका दुई शिक्षकले यस वर्ष एकैपटक काम छाड्नुभयो । पढाउन थालेको झण्डै १० वर्षमा विद्यालय छाड्नुभएका राजु पौडेल र सात वर्षमा विद्यालय छाड्नुभएका विकास पौडेल विद्यालयबाट मात्रै टाढा हुनुभएन, उहाँहरू जन्मेको थातथलो नै छाडेर हिँड्नुभयो ।
बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराको टारगाउँमा रहेको पल्लोपाखा माध्यमिक विद्यालयमा अध्यापन उहाँहरू घर टुनीबोट गाउँमा पर्छ । यो गाउँबाट यस वर्ष वर्षा सुरु नहुँदै १० घरले थातथलो छाडेका छन् । राजु र विकासजस्तै अर्का शिक्षक यदुनाथ शर्मा जागिरे जीवनबाट अवकाश पाउँदाको भोलिपल्टै घर छाड्ने अर्का पात्र हुनुहुन्छ । घरखर्च चलाउनमात्रै खेती किसानी गरेर गुजारा चलाउनेदेखि विभिन्न पेशा–व्यवसायमा रहेर काम गरिरहेका अधिकांशले गाउँ छाडेका छन् ।
विसं २०७७ भदौ २८ र २९ गते यो गाउँमा आएको पहिराले यहाँका नौ घर पुरेको थियो । पहिरामा परेर दुई जनाको मृत्यु भयो । परापूर्वकालदेखि पहिराको त्रास नरहेको गाउँमा एक्कासी गाउँमाथिबाट आएको पहिराले घरबारी र ज्यान नै लिएपछि पुरिएका घरका विस्थापित भए । आसपासका घरहरू जोखिमकै कारण विस्थापित भए । गाउँका आधा परिवार विस्थापित भएपछि समुदाय नै मासिएको भन्दै घर छाडेर हिँड्नेको सङ्ख्या बढिरहेको छ ।
“न त घर जोखिममा थियो न मलाई रोजगारीको समस्या तर के गर्नु समुदाय नै नभएपछि एक्लै गाउँको घर कुरेर बस्न सकिएन्”, यसै वर्ष शिक्षकको जागिरसँगै घर छाडेर हिँड्न्भएका राजुले भन्नुभयो, “पहिराले विस्थापितहरूको समयमा व्यवस्थापन र जोखिमको दिगो निकास हुन नसक्दा यो अवस्था आयो ।” बाउबाजेले आर्जेको सम्पत्ति, आफैँले बनाएको घर र खाइपाइ आएको जागिर छाडेर हिँड्दा नराम्रो लागेको उहाँले बताउनुभयो ।
कुनै समय निकै चहलपहल हुने टुनिबोट बस्ती अहिले सुनसान छ । त्यहाँका ४६ घरमध्ये ३१ घरमा ताला ठोकिएका छन् । घरका छेउकुना र आँगन घाँस र झाडीले भरिएका छन् । कुनै बेला घर–घरमै रोजगार भएको टुनिबोट बस्ती अहिले सुनसान र डरलाग्दो झाडीका रूपमा परिणत भएको छ । पछिल्लो समय टुनिबोटमा १५ घरपरिवारमात्रै बसोबास गर्दछन् । उनीहरुसमेत समुदायकै अभावमा गाउँ छाड्ने मानसिकतामा छन् ।
“गाउँमा बसेर के गर्नु एउटा घर ओल्लो डाँडा अर्को घर पल्लो डाँडा छ, बाँदरले समेत एक्लैलाई टेर्दैन”, उहाँले भन्नुभयो, “गाउँ सकिएर जङ्गल भरियो, अब जङ्गलकै त्रासले गाउँ छाड्नुपर्ने छ ।” रोजगारीमा रहेका केहीले छाड्न नमिलेको र केही स्थानीयवासीको अन्यत्र जाने उपाय नै नभएकामात्रै गाउँमा रहेको शिक्षक राजु बताउनुहुन्छ । सडक नालीको प्रभावकारी व्यवस्थापन नगर्दा गएको पहिराले बस्ती उठाउने अवस्था आएको गाउँलेको आरोप छ ।
टुनीबोट गाउँबाट विस्थापितहरू चितवन, पोखरा, काठमाडौँ र बागलुङ बजारमा बस्ने गरेका छन् । केहीले घर बनाए भने अर्थावस्था कमजोर भएकाहरू भाडामा बसेर ज्यालादारीमा काम गरी छाक टार्छन् । दुई वर्षअघि पुरिएका घरसमेत पुनःस्थापना हुन नसकेकाले विपत्का बेला सहयोग नपाइने भन्दै उनीहरू घर छाडेको बताउँछन् ।
विपतले निम्त्याउने समस्या र बसाइँसराइ पछिल्लो समयको जटिल विषय भएको जैमिनी नगरप्रमुख नरबहादुर पुनको भनाइ छ । बसाइँसराइ रोकथामका लागि छलफल भइरहेको उहाँले बताउनुभयो । सुविधाकै लागि गाउँ छाडेर हिँडेकाहरूलाई फर्काउन नगरले गाउँ–गाउँमा सुविधा पु¥याउने उहाँले बताउनुभयो । पहिरो प्राकृतिक विपद् भएकाले त्यसको न्यूनीकरणमात्रै गर्न सकिने उहाँको भनाइ छ । विस्थापित र बसाइँसराइसँगै स्थानीय सीप, पूँजी र श्रमशक्तिसमेत बाहिरिने हुँदा बसाइँसराइलाई रोक्नुपर्ने स्थानीयवासीको माग छ ।
बाढीपहिराजस्ता प्राकृतिक विपत्तिबाट जोगाउन राज्यले पहल गर्नुपर्ने, शिक्षा, स्वास्थ्यमा नागरिकको सहज पहुँच पु¥याउनुपर्ने, रोजगार तथा आम्दानीका स्रोत बढाउनतर्फ ध्यान दिन सके विस्थापित हुने कार्य र बसाइँसराइ गर्नेहरूको सङ्ख्यामा कमी आउने बुझाइ छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

